काठमाडौं, १३ चैत्र । ओपनएआईले ‘इमेजेज इन च्याटजीपीटी’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ, जसले च्याटजीपीटीभित्रै जीपीटी-४ओ प्रयोग गरी कलात्मक तथा आकर्षक तस्बिर बनाउन सकिने सुविधा प्रदान गर्नेछ। कम्पनीका अनुसार यो नयाँ फिचर च्याटजीपीटी प्लस, प्रो, टिम र निःशुल्क संस्करणमा उपलब्ध हुनेछ।
निःशुल्क प्रयोगकर्ताले ड्याल-ईको सीमाभित्र रहेर तस्बिर बनाउन सक्नेछन्। यसअघि, ड्याल-ई थ्री मार्फत दिनमा तीनवटा तस्बिर बनाउन सक्ने सुविधा थियो, जुन अब सुधार गरिएको छ।
ओपनएआईका अनुसन्धानकर्ता गेब्रियल गोहका अनुसार यो प्रणाली अघिल्ला मोडेलहरूभन्दा धेरै सुधारिएको छ। नयाँ फिचरमा ‘बाइन्डिङ’ नामक प्रविधि थपिएको छ, जसले गर्दा एआईले रंग तथा आकार पहिचान गर्न अझ प्रभावकारी रूपमा काम गर्नेछ। ओपनएआईले १५ देखि २० वटा वस्तुहरूलाई सही रूपमा छुट्याउन सक्ने दाबी गरेको छ।
यस नयाँ फिचरले इन्फोग्राफिक्स, पोस्टर, स्टिकर तथा वैज्ञानिक चित्रहरू सहजै तयार पार्न सक्छ। साथै, टेक्स्ट रेन्डरिङ सुधारिएको छ, जसले गर्दा तस्बिरभित्र स्पष्ट अक्षरहरू देख्न सकिन्छ। पहिलेका एआई टुलहरूमा अक्षरहरू बिग्रने समस्या रहेको गुनासो आएपछि ओपनएआईले महिनौंसम्म विभिन्न सुधार गर्दै यो फिचर थप प्रभावकारी बनाएको हो।
साथै, नैतिक तथा सुरक्षाका उपायहरू पनि लागू गरिएका छन्। ओपनएआईका अनुसार नयाँ सिस्टमले भ्रामक वा गलत चित्रहरू उत्पन्न हुन नदिन विशेष ध्यान दिएको छ। साथै, ओपनएआईले बनाएका तस्बिरहरूमा ‘C2PA’ मेटाडेटा राखिनेछ, जसले तस्बिर ओपनएआईबाट उत्पन्न भएको प्रमाणित गर्नेछ।

