बारा,१३ चैत । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका एक शिक्षकले दुई दिनको अग्रिम हाजिरी गरेको खुलेको छ।
विद्यालयका तृतीय तहका प्राथमिक शिक्षक रमेशकुमार सिंह ले चैत १३ र १४ गतेको अग्रिम हाजिरी गरेको पाइएको हो।
हाजिरी विवरण: सिंहले चैत १ देखि ३ गतेसम्म हाजिरी गरेका थिए। चैत ४ देखि १२ गतेसम्म उनी विद्यालय नआएको हाजिरी किताबमा देखिन्छ। तर, चैत १३ र १४ गतेको अग्रिम हाजिरी गरिएको प्रमाण भेटिएको छ। हालसम्म उनको हाजिरीलाई रातो मसीले काटिएको छैन।
विद्यालय स्रोतका अनुसार शिक्षक सिंह शक्तिको आडमा विद्यालय समयमा उपस्थित नहुने, मनोमानी ढंगले आउने र हाजिरी गर्ने गरेका छन्।
शिक्षक सिंह २०७९ चैत २८ गते स्थायी शिक्षक को रूपमा विद्यालयमा नियुक्त भएका थिए। विद्यालय प्रशासनले यस विषयमा कुनै कदम चाल्ने वा कारबाही गर्नेबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।




