जनकपुर,१७ चैत । जनकपुरमा होलीमा रंग खेल्ने क्रममा विवाद भई छुरा हानेर मारिएका युवकको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरी झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा आइतबार स्थानीय र प्रहरीबीच झडप भएको हो ।
छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरुलाई पक्राउको माग गर्दै स्थानीयले जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।सडक खुलाउन गएको प्रहरीलाई स्थानीयले ढुङ्गामुढा गर्दै लखेट्न थालेपछि भएको झडपमा प्रहरी र स्थानीय समान्य घाइते भएका छन् ।
गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशु यादवलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए ।घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् ।
घटनाको दुई साता पुग्दा समेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले आइतबा बिहान ८ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।
गत चैत १३ गते पनि आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । स्थानीयका अनुसार त्यस दिन प्रहरीले दुई दिनभित्र थप अपराधीहरूलाई पक्राउ गर्ने आश्वासन दिएपछि खुलाइएको थियो ।
छुरा प्रहार घटनामा संलग्न भनिएका केही व्यक्तिहरू फरार भएर भारतमा लुकेकाले पक्राउ गर्न नसकिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको भनाइ छ । उनले छुरा प्रहार घटनाका मुख्य दोषी धर्मेन्द्रलाई पक्राउ गरिसकेको र अन्यको खोजी कार्य जारी रहेको बताए ।

