काठमाडौं, १८ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह आपराधिक घटनामा संलग्न भएको भन्दै उनी कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते भएका घटनाहरू निन्दनीय र खेदजनक भएको बताएका छन्।
प्रधानमन्त्री ओलीका अनुसार सरकारले विरोध प्रदर्शनलाई संवैधानिक अधिकारका रूपमा लिएको भए पनि तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। उनले सुरक्षा निकायमाथि आक्रमण, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाटजस्ता आपराधिक गतिविधि स्वीकार्य नभएको बताएका छन्।
‘यस्ता घटनामा संलग्न जोसुकै होस्, जुनसुकै हैसियतमा किन नहोस्, कडा प्रशासनिक कारबाही हुनेछ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले समाज विथोल्ने योजनामा संलग्न भएको र संविधान विरोधी गतिविधिमा लागिपरेको दाबी गरे। उनका अनुसार शाहले ‘जनकमाण्डर’ घोषणा गरेर हिंसात्मक वारदातका लागि निर्देशन दिएका थिए।
ओलीले शाहलाई सम्झौताविपरीत गतिविधि गरेको आरोप लगाउँदै भने, ‘पूर्वराजा शाहले नागरिक जीवन बिताउने सहमति उल्लंघन गरेका छन्। उनले पुनः शासन फर्काउने मनसाय राख्दै हिंसात्मक गतिविधि प्रायोजित गरेका छन्।’
प्रधानमन्त्री ओलीले हिंसात्मक घटनाका योजनाकार को हुन् भनेर विस्तृत छानबिन भइरहेको जानकारी दिए। घटनामा संलग्न कुनै पनि व्यक्तिलाई उन्मुक्ति नदिइने प्रतिबद्धता जनाउँदै उनले पूर्वराजा शाह पनि कानुनी कारबाहीको दायरामा पर्ने बताएका छन्।
‘यी घटनाका मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह हुन्, उनले जवाफ दिनुपर्छ,’ ओलीले भने।

