काठमाडौँ,१६ वैशाख । स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथात्मक पुस्तक बिक्रीमार्फत ठूलो रकम संकलन गरेका छन्। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार ‘महावीर पुन’ शीर्षकको पुस्तकबाट हालसम्म करिब १८ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको छ।
उनका अनुसार उक्त पुस्तकका करिब २ लाख ५० हजार प्रति बिक्री भइसकेका छन्। प्रति पुस्तक ७५० रुपैयाँ मूल्य निर्धारण गरिएकाले यो रकम संकलन भएको हो।
पुनले पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम व्यक्तिगत प्रयोगमा नगरी राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालनमा खर्च गर्दै आएको बताएका छन्। “किताब बिक्रीबाट आएको सबै रकम आविष्कार केन्द्रको खातामा जम्मा गरेको छु र आगामी दिनमा पनि त्यहीँ प्रयोग गर्नेछु,” उनले उल्लेख गरेका छन्।
देशभर स्वयं उपस्थित भएर पुस्तक बिक्री गर्दै आएका पुन हिमाल, पहाड र तराईका विभिन्न जिल्लामा पुगिसकेका छन्। संसद् बैठक नियमित नहुँदा पनि उनी पुस्तक बिक्री अभियानमा सक्रिय देखिन्छन्।
सामाजिक सञ्जालमा पनि उनको यो अभियानले व्यापक चर्चा पाएको छ। कतिपय स्थानमा पुस्तक बिक्रीका क्रममा भएका संवाद र विवादले समेत उनलाई चर्चामा ल्याएको छ।
राजनीतिमा प्रवेशअघि नवप्रवर्तन र प्रविधि विकासमा सक्रिय पुनले सार्वजनिक हितका लागि जुटाएको रकमले वैकल्पिक सोच र सामाजिक अभियानलाई थप बल दिएको विश्लेषण गरिएको छ।

