जडीबुटी उत्पादन कम्पनीमा आगजनी, २८ करोडको क्षति

spot_img

काठमाडौं, २० चैत्र । राजावादी आन्दोलनका क्रममा गत चैत १५ गते जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी भएको छ। आगलागीका कारण कम्पनीलाई करिब २८ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (GMP) अनुसार सञ्चालन भइरहेका दुईवटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। साथै, औषधि उत्पादनका लागि प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङ सामग्री जलेर नष्ट भएका छन्।

यादवले आगजनीपछि कम्पनीको उत्पादन पूर्ण रूपमा ठप्प भएको बताउँदै अस्थायी संरचना तयार गरेर भए पनि पुनः सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन्। उनले सरकारलाई १० करोड रुपैयाँ सहयोगका लागि अनुरोध गरिएको बताउँदै, “कम्पनीलाई पुनः उभ्याउन सरकारको गम्भीर ध्यानाकर्षण आवश्यक छ,” भनिन्।

कम्पनीले विभिन्न चुनौतीका बाबजुद प्रगति गरिरहेको र शाखा विस्तार गर्ने योजनामा रहेको बेला ठूलो आर्थिक क्षति बेहोर्नुपरेको महाप्रबन्धक यादवको भनाइ छ। “सबै जलेर खरानीमा परिणत भएको छ, तर हामी यो कम्पनीलाई पुनः आफ्नै खुट्टामा उभ्याउने छौं,” उनले थपिन्।

सरकार र सम्बन्धित निकायबाट आवश्यक सहयोग प्राप्त भएमा अस्थायी टहरा निर्माण गरी छिट्टै उत्पादन पुनः सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय