काठमाडौं, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई श्रीलंका र बंगलादेशको उदाहरण दिँदै दुई तिहाइको दम्भ नदेखाउन चेतावनी दिएका छन्। बिहीबार मधेश केन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले जनताको विरोध अघि बढेमा दुई तिहाइको सरकार पनि टिक्न नसक्ने बताए।


उनले श्रीलंका र बंगलादेशको राजनीतिक परिदृश्यलाई उदाहरण दिँदै भने, “प्रतिनिधिसभामा दुई तिहाइको संख्या बलियो देखिए पनि जनताको असन्तुष्टि बढेपछि त्यस्तो शक्ति टिक्न सक्दैन। बंगलादेशमा दुई तिहाइको सरकार कसरी तुहियो? श्रीलंकामा बहुमतको सरकार भाग्दा कट्टु सम्हाल्नसमेत पाएन।” उनले बलियो सरकार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयन गर्न सक्ने सरकार मात्र हुनसक्ने धारणा व्यक्त गरे।
यादवले हालको सरकार बनेपछि भ्रष्टाचार नियन्त्रण हुन नसकेको, आर्थिक सुधार नआएको र लुटतन्त्र तथा विचौलियातन्त्र मौलाएको आरोप लगाए। उनले संविधान संशोधनको विषयमा प्रधानमन्त्रीको प्रतिबद्धता ढिलाइ गर्ने संकेत देखिएको उल्लेख गर्दै भने, “संविधान संशोधन २०८७ सालमा गर्ने भनिन्छ, तर यो सरकार त २०८४ सम्म मात्रै चल्छ।” यसले सरकारको कमजोरी उजागर गरेको उनको दाबी छ।

उनले देशमा बढ्दै गएको भ्रष्टाचार, जनताको आक्रोश र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै प्रतिगमनकारी शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयासमा रहेको भन्दै सचेत रहन आग्रह गरे।