काठमाडौं, २४ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी जनयुद्धको अन्त्य र प्रचण्डको पार्टीमा सामेल हुने घटनाक्रमको बारेमा खुलासा गरेका छन्। अध्यक्ष नेपालले भने, “राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र म हामी तीन जनाले गणतन्त्र ल्याउने सहमति गरेपछि मात्रै माओवादी जनयुद्धको छोडेर प्रचण्ड समझदारीमा आएका थिए।”
आइतबार आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघको बागमती प्रदेश भेलामा बोल्दै अध्यक्ष नेपालले गणतन्त्रको मार्ग तय गर्न कोइराला र आफूले कागज तयार गरी सबै अधिकार जनतालाई सुम्पेको उल्लेख गरे। उनले थपे, “ज्ञानेन्द्र शाहको कुनै इच्छा छैन राजतन्त्र फर्काउने, यदि यस्तो हो भने म उनलाई धन्यवाद दिन चाहन्छु।”
अध्यक्ष नेपालले राजतन्त्रको पक्षमा रहेका नेता र कार्यकर्ताहरूको आलोचना गर्दै जनताले रोजेको व्यक्तिले मात्र देशको भलो गर्न सक्ने बताएका छन्। उनले वंशीय शासनको आलोचना गर्दै यस्तो शासन कहिल्यै राम्रो हुन नसक्ने स्पष्ट पारे।
अध्यक्ष नेपालले पार्टीको कार्यालयमा सुरक्षा नदिएको र सरकारको आलोचना गर्दै क्षतिपूर्ति माग गरे।

