नेपालमा मातृ र सुत्केरी मृत्युदरमा महत्वपूर्ण प्रगति भएकाे मन्त्री पौडेलकाे भनाई

spot_img

काठमाडौं, २६ चैत । नेपालले पछिल्ला तीन दशकमा मातृ र सुत्केरीसँग सम्बन्धित मृत्यु दरमा महत्वपूर्ण प्रगति गरेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दिएका छन्। उनले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधन गर्दै नेपालका स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिहरूको चर्चा गरे।

मन्त्री पौडेलले परिवार नियोजनका साधनहरूको प्रयोगमा वृद्धि, प्रजनन दर र किशोरावस्थाका जन्मदरमा कमी तथा बालविवाह घटाउनमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको बताए।

नेपालको स्वास्थ्य प्रणालीलाई सबल बनाउँदै हरेक नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पौडेलले भने, “यो हामी एक्लैले मात्र गर्न सक्दैनौं, अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताले मात्र यो सम्भव हुनेछ।”

स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता र ग्रामीण क्षेत्रको स्वास्थ्य पूर्वाधारको अभावका कारण स्वास्थ्य सेवामा पहुँचमा समस्या भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा थप चुनौती आएको बताए। उनले भने, “जलवायु परिवर्तन र प्राकृतिक प्रकोप बढ्दै जाँदा आपतकालिन स्वास्थ्य सेवा प्रणालीलाई अझ बलियो बनाउन आवश्यक छ।”

त्यसैगरी, विकास सहायतामा कमीका कारण नेपाललाई स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न कठिनाइ भइरहेको मन्त्री पौडेलले जनाए। उनले विशेषगरी, नेपाललाई विकास सहायतामा वृद्धि गर्न जोड दिए र निजी क्षेत्रलाई स्वास्थ्यमा लगानी बढाउन आग्रह गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय