सर्लाहीमा जङ्गली हात्तीको आतङ्क, सर्वसाधारण त्रसित

spot_img

जनकपुर, २९ चैत्र । सर्लाहीको हरिपुर नगरपालिका–२ सखुवा गाउँमा जङ्गली हात्तीको लगातारको उपद्रवले स्थानीयवासी त्रसित बनेका छन्।

तीन वटा जङ्गली हात्तीले दुई रातदेखि किसानले लगाएको मकै खाइदिने, नष्ट पार्ने र बस्ती नजिकै आएर आक्रमणको प्रयास गर्दा गाउँमा डरको वातावरण छाएको छ। बस्ती नजिक रहेको जानकीनगर वनमा दिनभर बसोबास गर्ने हात्तीहरू साँझपख गाउँ पसेर बालीनालीमा क्षति पु¥याउने गरेका छन्।

स्थानीय ध्रुवप्रसाद प्रसाईका अनुसार, हात्तीले खेतमा सिँचाइका लागि राखिएको विद्युत मिटरसमेत उखेलेर फालिदिएका छन्। जङ्गलसँग जोडिएको मुसहर बस्तीमा छाप्रोमा बस्नेहरू रातभर निदाउनसमेत नसक्ने अवस्थामा पुगेका छन्।

शुक्रबार बिहान जनप्रतिनिधि र प्रहरी टोलीले स्थलगत अवलोकन गर्दा २२ जना किसानको करिब तीन बिघा क्षेत्रफलमा लगाइएको मकै बाली र विद्युत मिटरमा क्षति पुगेको पुष्टि भएको हो। हरिपुर–२ का वडाध्यक्ष निलबिक्रम थापाका अनुसार, यो मकै उन्नत जातको थियो र आर्थिक हिसाबले ठूलो क्षति भएको छ।

यो क्षेत्रमा जङ्गली हात्तीको यस्ता गतिविधि पटक–पटक भइरहँदा स्थानीयवासी हिँडडुल गर्नसमेत डराउने अवस्था आएको छ। केही साताअघि पनि सखुवा, हजारबिघा, मूर्तिया र रानिगञ्ज क्षेत्रमा हात्ती समूहले घर भत्काउने, केराको बोट र बाली नष्ट गर्ने काम गरेका थिए।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले जङ्गली हात्तीलाई नियन्त्रणमा लिन सकिने विकल्प नभएको बताउँदै सुरक्षित तरिकाले जंगलतर्फ फर्काउनु बाहेकको उपाय नरहेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय