मन्त्रिपरिषद्को निर्णय र विधेयक फास्टट्रयाकबाट अघि बढाउन गगन थापाको सुझाव

spot_img

काठमाडाैं, ३० चैत्र । आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई दुईवटा स्पष्ट विकल्प प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले शिक्षकहरूको केही मागहरू कानून नबनाएरै समाधान गर्न सकिने बताएका छन्। उनका अनुसार मन्त्रिपरिषद्ले तत्काल निर्णय गरेर शिक्षकहरूलाई विद्यालयमा फर्काउने व्यवस्था गर्न सकिन्छ।

“कतिपय मागहरू मन्त्रिपरिषद्ले आजै निर्णय गरेर सम्बोधन गर्न सक्छ। केही मागहरू सम्बन्धित मन्त्रालयले निर्णय गरेर तत्काल कार्यान्वयन गर्न सकिन्छ,” थापाले उल्लेख गरेका छन्।

शिक्षकहरूको मुख्य माग शिक्षा ऐन पारित गर्नेसम्बन्धी रहेकाले थापाले आगामी बर्खे अधिवेशनको प्रारम्भमै विधेयक फास्टट्रयाकमार्फत पारित गर्न सरकारलाई सुझाव दिएका छन्। उनका अनुसार विधेयकको विषयवस्तुमा पूर्वसहमति भइसकेको हुँदा अब ढिलासुस्ती गर्नु उपयुक्त हुँदैन।

थापाले शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुनु लज्जास्पद रहेको भन्दै सरकार र शिक्षक दुवै पक्षलाई समयको संवेदनशीलता बुझ्न आग्रह गरेका छन्। “अब शिक्षकलाई चाँडो कक्षा कोठामा फर्काउनु अत्यावश्यक छ,” उनले भने, “प्रधानमन्त्री र सरकारमा रहेका साथीहरूले थप जिम्मेवारी बोध गर्नुपर्छ।”

हाल शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंका सडकमा प्रदर्शनमा छन् र शैक्षिक हड्ताल जारी राखेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय