spot_img

भ्रष्टाचार मुद्दामा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध फेरि पक्राउ पुर्जी

spot_img
spot_img

काठमाडौं,०१ वैशाख । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध फेरि एकपटक पक्राउ पुर्जी जारी भएको छ। भारतमा आश्रय लिएकी हसिनासहित उनकी बहिनी शेख रेहाना र भतिजी तथा बेलायती सांसद ट्युलिप रिजवाना सिद्दीकीलगायत ५० जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्राउ आदेश जारी गरिएको हो।

ढाका महानगरीय वरिष्ठ विशेष अदालतका न्यायाधीश जाकिर हुसेनले भ्रष्टाचारविरोधी आयोग (एसीसी) द्वारा दायर गरिएको तीनवटा छुट्टाछुट्टै मुद्दाका आधारमा यो आदेश दिएका हुन्। अदालतले अप्रिल २७ मा गिरफ्तारी आदेशको प्रगति समीक्षा गर्ने जनाएको छ।

एसीसीले जग्गा हिनामिना र पदको दुरुपयोगमार्फत अवैध रूपमा जग्गा प्राप्त गरेको आरोपमा ती अभियुक्तहरूविरुद्ध मुद्दा दायर गरेको हो। यसअघि पनि एसीसीले हसिनासहित उनकी छोरी साइमा वाजेद पुतुललगायत १७ जनाविरुद्ध अर्को मुद्दामा पक्राउ आदेश जारी गरिसकेको थियो।

त्यस्तै, जनवरीमा पनि पूर्वाचल नयाँ सहर परियोजनामा १० वटा जग्गा प्राप्त गर्दा सत्ता दुरुपयोग गरेको आरोपमा हसिनाको बहिनी रेहानाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सो मुद्दामा हसिना र ट्युलिप सिद्दीकीसमेत प्रतिवादीमा परेका थिए।

हालै एसीसीले शेख मुजिब शताब्दी समारोहको खर्चका विषयमा ४,००० करोड रुपैयाँको दुरुपयोग भएको भन्दै नयाँ अनुसन्धान सुरु गरेको छ। सो रकम राष्ट्रिय कोषबाट खर्च गरिएको आरोप छ।

गत वर्ष बंगलादेशमा भड्किएको विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट हटेकी थिइन् र १५ वर्ष लामो कार्यकालको अन्त्य गर्दै भारततर्फ पलायन भएकी थिइन्। बंगलादेश सरकारले उनको सुपुर्दगीको माग गरिरहेको छ, तर भारतले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

भारतमा रहँदै हसिनाले आफ्ना समर्थकलाई अनलाइनमार्फत सम्बोधन गर्दै अझै पनि आफू नै वैध प्रधानमन्त्री रहेको दाबी गरेकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय