गम्भीर ६ रोगको निःशुल्क उपचार सुरु

spot_img

काठमाडौं, ४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका ६ रोगको निःशुल्क उपचार औपचारिक रूपमा सुरु गरिएको जनाएको छ। यस कार्यक्रमअन्तर्गत दुर्लभ र महँगो उपचार आवश्यक पर्ने रोगहरूको उपचार खर्च सरकारले व्यहोर्नेछ।

मन्त्रालयका अनुसार १४ वर्षमुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचार अब उपलब्ध हुनेछ। त्यस्तै, रगत नजम्ने बंशाणुगत रोग हिमोफिलिया का बिरामीलाई आवश्यक महँगो औषधि पनि अब निःशुल्क प्रदान गरिनेछ।

पक्षघात र जलनका गम्भीर अवस्थामा आवश्यक पर्ने अत्यावश्यक औषधिहरू र उपचार सेवा निःशुल्क उपलब्ध गराउने नीति लागू गरिएको मन्त्रालयले जानकारी दिएको छ। कमजोर आर्थिक हैसियत भएका नागरिकका लागि सातवटै प्रदेशमा जलनसम्बन्धी विशिष्ट सेवा पनि निःशुल्क दिइँदैछ।

सांसद शिशिर खनालद्वारा संसदमा दर्ता गरिएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नीति कार्यान्वयन भइसकेको र यसका लागि वार्षिक करिब साढे ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका अनुसार, नागरिकलाई गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा दिने उद्देश्यले यस्तो नीति ल्याइएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय