बीरगन्ज,५ वैशाख । वीरगन्ज महानगरपालिका – २१ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, र अव्यवस्थित बसोबासीका समस्याहरू समाधान गर्न वडा स्तरीय सहजीकरण समितिको बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जग्गा वितरणका लागि विद्यमान कानुनी प्रक्रिया र आयोगको कार्ययोजना बारे सहभागीहरूलाई जानकारी दिएका थिए।
बैठकमा सबै सदस्यहरूले जग्गा वितरण प्रक्रियालाई पारदर्शी, निष्पक्ष र द्रुत बनाउने प्रतिबद्धता जनाएका थिए। यसैगरी, सरकारले र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै दीर्घकालीन समाधानका उपायहरूको खोजी गर्ने निर्णय गरिएको छ।
साथै, आगामी दिनमा वडा स्तरीय सहजीकरण समितिका क्रियाकलापलाई थप प्रभावकारी बनाउँदै भूमिहिन र सुकुम्बासी समुदायका अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास गर्नका लागि बैठकले निष्कर्ष निकालेको छ।
बैठकको अध्यक्षतामा वडाध्यक्ष राधाकृष्ण रौनियारले बैठक संचालन गरेका थिए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र भूमि समस्या समाधान आयोगकी सर्वेक्षक मिना चौधरी, अमिन सुराज साह लगायतका प्रमुख व्यक्तिहरूको समेत सहभागिता रहेकाे थियो।

