दिल्लीको मुस्तफावादमा चार तले भवन भत्किँदा ४ को मृत्यु

spot_img

बीरगन्ज, ६ वैशाख । भारतको राजधानी दिल्लीस्थित मुस्तफाबाद क्षेत्रमा शुक्रबार राति आएको आँधीबेहरीपछि चारतले भवन ढल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ। अझै पनि १० भन्दा बढी व्यक्ति भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

घटना राति करिब २:३० बजे भएको हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, एनडीआरएफ र दिल्ली प्रहरीले तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका छन् ।

शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएर भारी वर्षा र आँधीबेहरी आएको थियो। हुरीकै असरले गर्दा मुस्तफाबादमा रहेको चारतले भवन ढलेको प्रारम्भिक अनुमान गरिएको छ ।

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले बिहान करिब ३ बजेतिर भवन भत्किएको खबर प्राप्त भएको पुष्टि गरेका छन्। घटनास्थल पुग्दा पूरै भवन ढलिसकेको र मानिसहरू भग्नावशेषमा फसेको अवस्था देखिएको उनले बताएका छन् ।

एक प्रत्यक्षदर्शीले भारतीय समाचार संस्था पीटीआईसँग भने, “राति झन्डै २ देखि २:३० बजेको बीचमा अचानक भवन ढल्यो। भवनको भुइँतल्लामा निर्माणकार्य भइरहेको थियो ।”

उद्धार कार्य तीव्र गतिमा जारी रहेको छ। मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना प्रहरी र उद्धारकर्मीहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय