वीरगंज,८ बैशाख – भर्खरै सम्पन्न ‘इस्टर युद्धविराम’मा पनि सहमति उल्लंघन गरेको आरोप युक्रेन र रुसले एकअर्कामाथि लगाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आइतबारमात्रै रुसी फौजले युद्धविरामको सम्झौता करिब तीन सयपटक तोडेका छन्।


यता, रुसको रक्षा मन्त्रालयले युद्धविराम अवधिभर युक्रेनी सेनाले धेरै मिसाइल आक्रमण गरेको दाबी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध चाँडै स्थगन हुनसक्ने संकेत गरेका छन्।
तर, उनले त्यसबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्। सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि हमला गरेको रुसले हालसम्म करिब २० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ, जसमा २०१४ मा अधिग्रहण गरिएको क्रिमिया पनि पर्छ।

गत महिना रुसले स्थायी युद्धविरामको प्रस्ताव अघि सारेपछि अमेरिका र युक्रेन दुबैले सकारात्मक संकेत दिएका थिए। राष्ट्रपति पुटिनले शनिबार रातदेखि आइतबार रातसम्मका लागि अस्थायी युद्धविरामको प्रस्ताव गरेका थिए।
पुटिनले सो अवधिमा आफ्ना सेना लडाईंमा सहभागी नहुने बताएका थिए, तर राष्ट्रपति जेलेन्स्कीले डोन्स्क र पेभरस्क क्षेत्रमा लडाईं जारी रहेको जानकारी दिएका छन्। रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाराकोभाले युक्रेनले अमेरिकाबाट प्राप्त हतियार प्रयोग गरेर युद्धविराम अवधिमा आक्रमण गरेको आरोप लगाएकी छन्।