जनकपुर,०९ वैशाख । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते र जालसाजीको अभियोगमा पक्राउ परेका छन्। उनले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप प्रयोग गरी चार किल्ला सिफारिस बनाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार २०८० साल माघ १९ गतेको घटनासम्बन्धी उजुरीको आधारमा साहलाई पक्राउ गरिएको हो। यस मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।
पूर्ववडाध्यक्ष साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। पछि २०७९ मा उनले एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका थिए तर चुनावमा पराजित भएका थिए।