लालबन्दी नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवाले सुरक्षित सुत्केरीमा सहजता

spot_img

जनकपुर, १० वैशाख । सर्लाही जिल्लाको विकट बस्ती लालबन्दी नगरपालिका–१४ की जमुनी बलले वैशाख ४ गते झिसमिसेमा सुत्केरी व्यथा लागेपछि निःशुल्क एम्बुलेन्स सेवाको सहारा लिएकी छन्। परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरेलगत्तै एम्बुलेन्स पठाइयो र उहाँलाई अस्पताल लगियो। अपराह्नमा उहाँले स्वस्थ शिशु जन्माउनुभयो। अर्को दिन, स्वास्थ्यकर्मीका साथ एम्बुलेन्समार्फत उहाँलाई घर पुर्‍याइयो।

लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार, नगरपालिकाले मातृ तथा नवजात मृत्युदर घटाउने उद्देश्यले गर्भवती तथा नवप्रसूता महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। हालसम्म १३ जनाले सो सेवा प्रयोग गरिसकेका छन्।

नगरपालिकाले रु २० लाख १० हजारको लागतमा एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको हो। नगर भित्रका जुनसुकै टोल वा वडाबाट महिलाहरूले अस्पताल जाँदा र फर्कँदा यो सेवा लिन सक्नेछन्।

यो सेवा सुरक्षित मातृत्व सुनिश्चित गर्न र दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच सहज बनाउने प्रयासको उदाहरण बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय