बारा,,१६ वैशाख । मधेस प्रदेशको पाँच जिल्लाका प्रहरी प्रमुख(एसपी) फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार ६३ प्रहरी उपरीक्षक(एसपी)को सरुवा गर्दा मधेसको आठ जिल्लामध्ये पाँच जिल्लाका एसपी फेरिएका हुन् ।


मधेसको रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका एसपीमा फेरिन लागेका हुन् । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार रौतहटमा नेत्रमणी गिरी आउन लागेका छन् । गिरी कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगर सुर्खेतबाट रौतहट आउन लागेका हुन् ।
रौतहटका एसपी दिलिप घिमिरेको नेपाल प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा नक्सालमा सरुवा भएको छ ।यसैगरी सर्लाहीमा एसपी योगेन्द्रकुमार खड्का आउने भएका छन् । खड्का लुम्बिनी प्रदेश प्रहरी गण बाँकेबाट आउन लागेका हुन् । सर्लाहीका एसपी रवीन्द्रकुमार सिंहको नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ ।

महोत्तरीमा एसपी हेरम्ब शर्माको सरुवा भएको छ । शर्मा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट महोत्तरीमा आउन लागेका हुन् । महोत्तरीका एसपी नकुल पोखरेलको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।
धनुषाको प्रहरी प्रमुखमा नरहरी रेग्मी आउने भएका छन् । रेग्मी जिल्ला प्रहरी परिसर ललितपुरबाट धनुषा आउन लागेका हुन् । धनुषाका एसपी भूवनेश्वर तिवारीको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौंमा सरुवा भएको छ ।
यसैगरी सिरहाको प्रहरी प्रमुखमा अनन्त शर्मा आउने भएका छन् । शर्मा गण्डकी प्रदेश प्रहरी गणबाट आउन लागेका हुन् । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।