राजविराज,१७ बैशाख । सप्तरीमा प्रहरीले लागूऔषध गाँजाको ठूलो परिमाण बरामद गरेको छ। फरक–फरक स्थानमा चेकजाँच गर्दै दुई वटा अटोबाट १३७ केजी गाँजा फेला पारेको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित एक जना पक्राउ परेका छन् भने अर्का चालक फरार छन्।
बुधबार बिहान तिरहुत गाउँपालिका–२ बडहरा स्थित हुलाकी सडकमा चेकजाँचका क्रममा प्र.१–०२–००३–ह २९३४ नम्बरको अटोमा ५८ केजी गाँजा भेटिएको हो। इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरीक्षक लेख बहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले उक्त गाँजासहित अटो चालक उदयपुर बेलका नगरपालिका–३ निवासी ४१ वर्षीय जयराम दाहाललाई पक्राउ गरेको हो।
उक्त गाँजा अटोभित्र प्लास्टिकका पोका र बोरा भित्र लुकाइएको अवस्थामा फेला परेको हो। पक्राउ परेका दाहालमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
यसअघि मंगलबार राति करिब पौने १० बजे कंचनरुप नगरपालिका–२ बरमझिया स्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले अर्को अटो (स.१.ह.१७१६) फेला पारेको थियो। प्रहरी गस्ती देखेपछि चालक अटो छाडेर फरार भएका थिए।
चेकजाँच गर्दा अटोभित्र तीनवटा बोरा, एक कालो सुटकेस र एक रातो झोलामा ७९.०७६ केजी गाँजा फेला परेको हो। दुवै अटो र लागूऔषध बरामद गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

