भूमिसम्बन्धी विधेयकप्रति जसपा अध्यक्ष उपेन्द्र यादवको आपत्ति

spot_img

बीरगन्ज,०२ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हालसालै संसदमा पुनः प्रस्तुत गरिएको भूमिसम्बन्धी विधेयकप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त विधेयक जनताको हितमा नभएको भन्दै सशक्त विरोध गर्ने चेतावनी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष यादवले आफ्नो धारणा सार्वजनिक गर्दै भने, “भूमिसम्बन्धी अध्यादेश विगतमा पनि जनताको हितमा थिएन, त्यसैले हामीले त्यसबेला विरोध गरेका थियौँ।” उनले थपे, “सरकारले अहिले पुनः ल्याएको विधेयकमा पनि वन र भूमाफियाको स्वार्थ अनुकूलका प्रावधानहरू कायमै छन्।” यादवका अनुसार, विधेयकमा जनताको पक्षमा आवश्यक संशोधन नगरिएमा जसपा नेपालले सडक र सदन दुवै मोर्चाबाट संघर्ष सुरु गर्ने छ। उनले सरकारलाई जनविरोधी कानुन पारित गर्न नदिने स्पष्ट चेतावनी समेत दिएका छन्।

यसअघि ल्याइएको अध्यादेश जसपाको कडा विरोधपछि सरकारले फिर्ता लिएको स्मरण गराउँदै अध्यक्ष यादवले सरकारलाई जनताको हितविपरीत निर्णय नगर्न आग्रह गरेका छन्।

विधेयकमा वन र भूमाफियाको प्रभाव झल्किने गरी प्रावधान राखिएको भन्दै अध्यक्ष यादवले विधेयकलाई जनविरोधी करार गरेका छन्। “यो विधेयक पारित भएमा भूमिसुधारको नाममा गरिब, सीमान्तकृत र भूमिहीन वर्ग झन् वञ्चित बन्नेछन्,” अध्यक्ष यादवको आरोप छ। सरकारको कदमप्रति कडा आलोचना गर्दै यादवले संसद भित्र र बाहिर दुवैबाट प्रतिरोध गर्ने रणनीति अपनाउने संकेत दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय