काठमाडौं,०२ असार । इरानले इजरायलका प्रमुख शहरहरूमा मिसाइल आक्रमण गरेपछि इजरायलमा कम्तीमा ८ जनाको ज्यान गएको छ भने ८७ जना घाइते भएका छन्। बेलायती पत्रिका द गार्डियनका अनुसार, इजरायलको आपतकालीन सेवा एमडीएले तेल अबिब, हैफा लगायतका चार स्थानमा मिसाइल प्रहार भएको जनाएको छ।
सबैभन्दा बढी क्षति पेताह टिक्वा क्षेत्रमा भएको हो, जहाँ एउटा आवासीय भवनमा मिसाइल लाग्दा गम्भीर क्षति पुगेको छ। भवनका सिसा फुटेका छन् र पर्खालहरू भत्किएका छन्। हैफामा करिब ३० जना घाइते भएका छन् भने स्थानीय विद्युत् उत्पादन केन्द्रमा आगलागीसमेत भएको खबर छ। इरानको सरकारी टेलिभिजनका अनुसार, यो आक्रमण इजरायलद्वारा तेहरानमा भएको सैन्य र आणविक लक्षविरुद्धको जवाफस्वरूप भएको हो। इरानी रिभोलुसनरी गार्ड्सले करिब १०० मिसाइल प्रहार गरिएको दाबी गरेको छ। उनले इजरायलको प्रतिरक्षा प्रणालीमा गम्भीर दबाब परेको दाबीसमेत गरेका छन्।
यसअघि आइतबार इजरायली आक्रमणमा इरानका गुप्तचर प्रमुख मोहम्मद काजेमीसहित दुई उच्च अधिकारीको मृत्यु भएको थियो। इजरायली सेनाले मिसाइल प्रक्षेपण स्थलहरूमा जवाफी हमला गरेको बताइएको छ। इरान र इजरायलबीचको यो बढ्दो तनावले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपेको छ। क्यानडामा सुरु भएको जी–७ सम्मेलनमा यो द्वन्द्वलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले कूटनीतिक माध्यमबाट समाधान खोजिनुपर्ने बताएका छन्।
तर, इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ। “जबसम्म इजरायली आक्रमण जारी रहन्छ, युद्धविराम सम्भव छैन,” एक इरानी अधिकारीले रोयटर्सलाई भने।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले इरानले उच्च स्तरको आणविक बम विकास गरिरहेको आरोप लगाउँदै सैन्य कारबाही सुरु गरिएको घोषणा गरेका छन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा सहमति खोज्न कहिलेकाहीँ लड्नुपर्ने हुन सक्छ भनेका छन्। यसैबीच, ओमानमा अमेरिका–इरानबीच आणविक कार्यक्रमबारे नयाँ कूटनीतिक वार्ता तय भएको छ। तर द्वन्द्व चर्किएसँगै वार्ताको सम्भावना कमजोर देखिएको छ।

