काठमाडौं,२७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व जनसंख्या दिवसका अवसरमा समयमा विवाह गरी सन्तान उत्पादनमा लाग्न र ३० वर्षभित्र तीन सन्तान जन्माइसक्न आग्रह गरेका छन् । उनले ‘चालीस कटेसि रमाउँला’ भन्ने गीतमा नअल्मलिन युवाहरूलाई सुझाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धि सँगसँगै जनसंख्याको सन्तुलित विकास नभए मानव अस्तित्व नै खतरामा पर्ने बताए । उनले हरेक व्यक्तिले सन्तान उत्पादनलाई ‘धर्तीका लागि उत्तरदायित्व’ का रूपमा लिनुपर्नेमा जोड दिए ।
‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ। जनसंख्या हुँदैनथ्यो भने देश हुँदैन, ‘प्रधानमन्त्रीले भने, ‘हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ। सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन ।’
प्रधानमन्त्रीले मानव अस्तित्वका लागि शान्ति र जनसांख्यिक सन्तुलनको महत्त्वमाथि पनि प्रकाश पारे। ‘कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड् । जनसंख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन। जनसांख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन,’ उनले थपे ।
कानुनी रूपमा २० वर्षपछि विवाह गर्न पाइने व्यवस्था भएकाले सोहीअनुसार समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान जन्माइसक्न प्रधानमन्त्रीले युवाहरूलाई प्रेरित गरे । उनले विगतमा ‘सन्तानले डाँडाकाँडा ढाकुन् नभन’ भनी जनचेतना फैलाउँदा उल्टो असर परी सन्तान नै नपाउने स्थिति आएकोमा चिन्ता व्यक्त गरे । विकसित देशहरूमा समेत जनसंख्या ऋणात्मक हुँदा मानव अस्तित्व खतरामा परेको भन्दै उनले जनसंख्याको उचित व्यवस्थापनका लागि नयाँ नीतिको कार्यान्वयनमा लाग्न आह्वान गरे ।

