कालिकोट, २८ असार । लगातारको वर्षाले पहिरो जाँदा अबरुद्ध भएको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड एक सातापछि पुनः सञ्चालनमा आएको छ। कालिकोटको गाल्जे नजिकै सडक मुनिको पर्खाल भत्किएर ठूला सवारीसाधन आवागमन रोकिएको सडक अब नेपाली सेनाको सहयोगमा विस्फोटमार्फत खुलाइएको हो।
कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार, साना सवारी साधन पहिल्यैदेखि आवतजावत गर्दै आएका भए पनि ठूला मालबाहक गाडीहरू सातादेखि विभिन्न स्थानमा रोकिएका थिए। शुक्रबार नेपाली सेनाले कम्प्रेसर मेसिनमार्फत चट्टानमा होल खोपेर विस्फोट गराएपछि ठूला गाडीहरू पनि मार्ग प्रयोग गर्न थालेका छन्।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पहिरोले ढुङ्गा हटाउन ठूलो लागत लाग्ने बताए। “कर्णालीमा एउटै ढुङ्गा हटाउन करोडौं खर्च लाग्ने अवस्था आउँछ,” उनले भने।
सडक अवरुद्ध हुँदा निर्माण सामग्री, खाद्यान्न, र यात्रुबाहक गाडीहरू ताडी, पिली, बाली, गाल्जे र नाग्मा बजार लगायतका स्थानमा रोकिएका थिए। तीन साताअघि पनि सोही स्थानमा पहिरो जाँदा बनाइएको पर्खाल पुनः भत्किँदा समस्या दोहोरिएको तिलागुफा नगर उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए।
उता, ट्रक व्यवसायी रतन महतारा र चालक नवीन विश्वकर्माले राजमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री र खाद्यान्न बोकेका सयौं गाडी बाटोमै थुनिएको गुनासो गरे। नवीनले भने, “७ दिनपछि बल्ल जुम्लातर्फ जान पाइयो।”
स्थानीय उद्यमी बबुर शाहीले प्रत्येक वर्ष वर्षात्को समयमा कर्णाली राजमार्ग अवरुद्ध भएर जनजीवन अस्तव्यस्त हुने गुनासो गरे। “सडकको अवस्था राम्रो छैन, सधैं सास्ती पाइन्छ,” उनले भने।
२३३ किलोमिटर लम्बाइ भएको कर्णाली राजमार्गको नाग्मा–जुम्ला खण्ड तुलनात्मक रूपमा राम्रो भए पनि कालिकोट र दैलेख खण्ड हिलाम्मे र जोखिमयुक्त हुने गरेको छ।

