काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा नेपालले अतिकम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नतिको यात्रा सम्बन्धमा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रिय सभाको आज अपराह्नको बैठकमा प्रधानमन्त्री ओलीले “एलडिसी ग्रयाजुएसन” सम्बन्धी विषयमा धारणा राख्नेछन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गरेको “नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” माथि भएको छलफलका क्रममा उठेका प्रश्न र सुझावहरूमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
यस सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले नेपालको विकास यात्राको हालको अवस्था, प्राप्त उपलब्धि, चुनौती र भावी रणनीतिहरूबारे स्पष्ट धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

