मोरक्कोमा ‘जेनजी आन्दोलन’ चर्कियो : भ्रष्टाचार, बेरोजगारी र विश्वकप खर्चविरुद्ध युवाहरू सडकमा

spot_img

काठमाडौं,१६ असोज।  बंगलादेश, नेपाल, पेरु र मडागास्करपछि अब मोरक्कोमा पनि युवाहरू ठूलो संख्यामा सडकमा उत्रिएका छन्। पाँच दिनदेखि जारी विरोध आन्दोलन देशव्यापी बन्दै गएको छ, जसलाई स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘जेनजी आन्दोलन’ नाम दिएका छन्।

यो आन्दोलन कुनै दल वा नेताको नेतृत्वमा नभई टिकटक, डिस्कर्ड जस्ता सामाजिक सञ्जालमार्फत स्वस्फूर्त रूपमा युवाहरूले सुरु गरेका हुन्। मोरक्कोले सन् २०३० को फिफा विश्वकप आयोजना तयारीका लागि अरबौं डलर खर्च गरिरहेको अवस्थामा शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत क्षेत्र बेवास्ता भएको भन्दै युवाहरू आक्रोशित भएका छन्। ‘स्टेडियम छ, तर अस्पताल कहाँ छ?’ भन्ने नाराले आन्दोलनलाई थप उर्जा दिएको छ।

हालै राजधानी रबात नजिकैको एक सरकारी अस्पतालमा उपचार अभावका कारण आठ महिलाको मृत्यु भएपछि जनआक्रोश झनै भड्किएको हो।

बुधबारसम्म आइपुग्दा रबातसहित प्रमुख सहरहरूमा आन्दोलन हिंसात्मक बनेको छ। बैंक, पसल र गाडीहरूमा तोडफोड तथा आगजनी भएका छन्। सरकारले दिएको तथ्याङ्कअनुसार हालसम्म ४०९ जना प्रदर्शनकारी पक्राउ परेका छन् भने २६३ सुरक्षाकर्मी घाइते भएका छन्। १४२ सरकारी र २० निजी गाडी क्षतिग्रस्त भएका छन्।

गृह मन्त्रालयले आन्दोलनकर्तालाई चेतावनी दिँदै ‘कानुन उल्लंघन गर्नेहरूमाथि कठोर कारबाही गरिने’ जनाएको छ। तर, प्रदर्शनकारी र मानवअधिकार संगठनहरूले सरकारले दमन होइन, संवादमार्फत समाधान खोज्नुपर्ने माग गरेका छन्।

आन्दोलनमा सहभागी युवाहरूले “हामीलाई स्टेडियम होइन, शिक्षा र स्वास्थ्य चाहिन्छ” भन्दै भ्रष्टाचार, बेरोजगारी र मूल्यवृद्धिको अन्त्यका लागि दबाब दिइरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय