काठमाडौं,२८ असोज । वेस्ट इन्डिजसँगको २ खेलको टेस्ट क्रिकेट शृङ्खला घरेलु टोली भारतले क्लिन स्वीप गरेको छ । दिल्लीमा भएको दोस्रो टेस्टमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । वेस्ट इन्डिजले दिएको १ सय २१ रनको लक्ष्य भारतले पाँचौं दिनको खाना समयअघि ३ विकेट गुमाएर भेटायो । भारतका केएल राहुलले ५८, साई सुदर्शनले ३९ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिए ।
भारतले दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ गर्दै पहिलो पारीमा ५ विकेट गुमाएर ५ सय १८ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका यशस्वी जायसवालले १ सय ७५, कप्तान शुभमन गिलले १ सय २९, साई सुदर्शनले ८७ रन बनाएका थिए । वेस्ट इन्जिका जोमेल वारिकनले ३ विकेट लिए ।
वेस्ट इन्डिज पहिलो पारीमा २ सय ४८ रनमा अलआउट भएको थियो । वेस्ट इन्डिजका एलिक एथानाजेले ४१, शाई होपले ३६, टगेननारायण चन्द्रपाउलले ३४ रन बनाए । भारतका कुलदीप यादवले ५ विकेट, रविन्द्र जडेजाले ३ विकेट लिए । यसपछि फलोअनमा परेको वेस्ट इन्डिजले दोस्रो पारीमा ३ सय ९० रन बनाउँदै भारतलाई १ सय २१ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजका जोन क्याम्पबेलले १ सय १५, शाई होपले १ सय ३, जस्टिन ग्रिभ्सले ५० रन बनाए । भारतका कुलदीप यादव र जसप्रीत बुमराहले ३/३ विकेट लिए ।
यसअघि अहमदाबादमा भएको पहिलो टेस्ट भारतले एक इनिङ्स र १ सय ४० रनले जितेको थियो । योसँगै शुभमन गिलले टेस्ट कप्तानका रूपमा पहिलो शृङ्खला जितेका हुन् । यसअघि इङ्ग्ल्यान्डमा भएको ५ खेलको टेस्ट शृङ्खला २–२ को बराबरीमा सकिएको थियो ।



