काठमाडौं,०७ कात्तिक। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मुद्दाको सुनुवाइ बिहीबार सम्पन्न भएको छ। महान्यायाधिवक्ताका अनुसार, यस मुद्दाको फैसला आउँदो नोभेम्बर १३ मा सुनाइनेछ।
हाल भारतमा निर्वासनमा रहेकी हसिनामाथि गत वर्ष जुलाईमा भएको सरकारविरोधी आन्दोलनका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ।
एएफपीका अनुसार, हसिनाको अनुपस्थितिमै गत जुन १ मा यो मुद्दा दायर गरिएको थियो। अदालतमा बयान दिने साक्षीहरूले हसिनाले आन्दोलनका बेला सामूहिक हत्या गर्न आदेश दिएको दाबी गरेका छन्। ती साक्षीमध्ये एक जना प्रदर्शनका क्रममा गोली लागी अनुहार गम्भीर रूपमा घाइते भएका व्यक्ति पनि छन्।

अभियोजन पक्षले अदालतमा प्रहरीद्वारा प्रमाणित एक अडियो टेप पनि पेश गरेको छ, जसमा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न निर्देशन दिएको आवाज रहेको दाबी गरिएको छ।
अभियोजकहरूले अदालतसँग हसिनालाई दोषी ठहर गरिए मृत्युदण्डको सजाय सुनाउन माग गरेका छन्।




