वीरगञ्ज । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकमा भएको मोठो लुटपाट प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति घटेको घटनापछि परिचालन गरिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले पक्राउको पुष्टि गर्दै पक्राउ परेका व्यक्तिहरूको परिचय र विस्तृत विवरण संकलन भइरहेको बताए। “स्थानीयको सक्रिय सहयोग निर्णायक बन्यो। चार जनालाई नियन्त्रणमा लिएका छौँ, थप सोधपुछ र अनुसन्धान चलिरहेको छ,” उनले भने।
प्रहरीका अनुसार पाँचदेखि छ जनाको नकाबधारी समूहले बैंकबाट झण्डै ३ करोड ११ लाख रुपैयाँ लुटेको थियो। खोजतलासका क्रममा प्रहरीले विभिन्न स्थानबाट १ करोड ८० लाखभन्दा बढी नगद बरामद गरेको छ। बाँकी करिब १ करोड ३० लाख रकम र फरार सदस्यहरूको खोजी गर्न विशेष अपरेसन तीव्र बनाइएको प्रहरीले जानकारी दिएको छ।
लुटपाटका क्रममा समूहले बैंकको सुरक्षागार्डलाई नियन्त्रणमा लिएर हतियार देखाउँदै ढुकुटी खोल्न बाध्य बनाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनामा प्रयोग गरिएको बा १ ज ०३९८ नम्बरको रिजर्भ टाटा सुमो पहिचान भइसकेको र त्यसका चालकलाई पहिले नै नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
घाइते सुरक्षागार्डको उपचार भइरहेको छ। बैंकको सुरक्षा व्यवस्था, आन्तरिक प्रक्रिया र प्राविधिक कमजोरीबारे पनि विस्तृत जाँचबुझ अघि बढाइएको छ। प्रहरीले पक्राउ परेकाहरूको बयानका आधारमा बाँकी रकम र अन्य संलग्न व्यक्ति पनि चाँडै पक्राउ पर्न सक्ने दाबी गरेको छ।



