काठमाडौं,२४ मंसिर – विभिन्न प्रलोभनमा परी म्यानमारस्थित अवैध अनलाइन स्क्याम केन्द्रमा काम गर्न बाध्य बनाइएका ४७ जना नेपालीलाई उद्धार गरिएको छ। थाइल्यान्डस्थित नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरूलाई सफलतापूर्वक उद्धार गरी बुधबार नेपाल फर्काइएको जानकारी दिएको छ। नेपाल वायुसेवा निगमको उडानमार्फत उनीहरूलाई काठमाडौं ल्याइएको हो।
उद्धार गरिएको समूहमा ४५ पुरुष र २ महिला रहेका छन्। उनीहरू कुल २६ जिल्लाका नागरिक हुन्। उपलब्ध विवरणअनुसार झापाका ५ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३–३ जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २–२ जना रहेका छन्। त्यस्तै चितवन, दैलेख, कास्की, काठमाडौँ, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमबाट १–१ जनाको उद्धार गरिएको छ। पीडितहरू १७ देखि ४१ वर्ष उमेर समूहका छन् र धेरैजसोले कक्षा १२ सम्मको अध्ययन गरेका छन्।
राजदूतावासका अनुसार ती युवाहरू सामाजिक सञ्जाल (फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएप) तथा अनलाइन खेलका साथीहरूले देखाएका आकर्षक प्रस्तावमा फसेका थिए। ‘काठमाडौँमै बसेर राम्रो आम्दानी’, ‘१ लाखभन्दा बढी तलब’, ‘अफिसको काम’ जस्ता प्रलोभन देखाइने गरिन्थ्यो। त्यसपछि भारत र दुवई हुँदै उनीहरूलाई म्यानमार पुर्याइन्थ्यो।
म्यानमार पुगेपछि सुरुवाती केही दिन राम्रो व्यवहार गरे पनि पछि अनलाइन ठगी कार्यमा जबर्जस्ती संलग्न गराइने गरेको पीडितले बताएका छन्। तोकिएको लक्ष्य पूरा गर्न नसके कठोर शारीरिक तथा मानसिक अत्याचार गर्ने, बन्धक राख्ने, परिवारसँग फिरौती माग्ने र अर्को व्यक्तिलाई फसाएर ल्याए मात्र छाड्ने जस्ता क्रूर गतिविधि गरिएको उनीहरूको भनाइ छ। पीडितहरू २ महिनादेखि १८ महिनासम्म कैयौँको बन्धक जीवन बितेको छ।
दूतावासले हाल पनि म्यानमार, थाइल्यान्ड र लाओसको सीमा क्षेत्रमा रहेका स्क्याम केन्द्रहरूबाट नेपालीको उद्धार कार्य निरन्तर जारी राखेको जनाएको छ। चालू आर्थिक वर्षमा मात्र १४१ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र २०७९/८० मा १५६ जनाको उद्धार गरिएको थियो।
दूतावासले सामाजिक सञ्जालबाट प्राप्त प्रलोभन वा अपरिचित व्यक्तिको पछि लागेर विदेश नजान आग्रह गरेको छ। वैदेशिक रोजगारीमा आउँदा अनिवार्य रूपमा सरकारले दिने श्रम स्वीकृति लिएर मात्र विदेशिनु पर्ने तथा भिजिट भिसामा थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडिया जस्ता मुलुकमा काम खोज्न नजान चेतावनी दिएको छ।

