काठमाडौं। नेपाली क्रिकेट टोलीले विश्वकप छनोटको पहिलो खेलमै हार ब्यहोरेको छ। आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्डले २ विकेट गुमाएर १६.५ ओभरमै लक्ष्य भेट्टायो।
सुरुवाती ब्याटिङ गरेको नेपाललाई सम्झना खड्का र बिन्दु रावलले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। आक्रमक ब्याटिङ गर्दै ११ बलमा २६ रन बनाएर ओपनर खड्का ५.४ ओभरमा पभेलियन फर्किइन्।
दोस्रो विकेट विन्दुको गुम्यो। उनले ५६ बलमा ४४ रन बनाउँदा अर्धशतक बनाउन ६ रनले चुकिन्। त्यसबाहेक रुबिना क्षेत्रीले १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। थाइल्याण्डका लागि थिपाचा पुथावोङले ४ विकेट लिँदा ओनिचा कामचोम्फुले २ विकेट तथा चनिदा सुथिरुआङ, सुलिपोर्न लाओमी र सुनिदा चतुरुङ्ग्रत्तानाले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्डका लागि नत्ताकबलन चान्थमले अविजित रहँदै सर्वाधिक ५७ रन बनाउँदा नन्नापत कोन्चारोएनकाइले ३२ तथा अफिसारा सुवानचोनराथीले २८ रन बनाए।
बलिङतर्फ दुवै विकेट सीता रानामगरले लिइन्।नेपालले अब बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ। १० टोली सहभागी प्रतियोगिताको शीर्ष ४ खेलाडीले इङ्ग्ल्याण्ड र वेल्समा हुने विश्वकप खेल्नेछन्।
१० टोलीलाई दुई समूहमा बाँडिएको छ। नेपाल समूह ‘बी’ मा छ। दुवै समूहको शीर्ष तीन टोली सुपरसिक्समा पुग्नेछन्।

