सानेपा बैठकले गगन थापालाई कांग्रेसको प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

spot_img

काठमाडौं,०८ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक बस्ने भएको छ। महामन्त्री प्रदीप पौडेलले भोलि दिउँसो १ बजे पार्टी कार्यालय जाँदैछन् भन्ने जानकारी दिएका छन्।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो। सभापति भए पनि गगन थापाले कार्यसमितिको पहिलो र दोस्रो बैठक होटलमै गरेका थिए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै सम्पन्न गरिएको थियो। अबको बैठकमा पार्टी केन्द्रीय कार्यालयमा पहिलो पटक कार्यसमितिको औपचारिक बैठक बस्नेछ।

केन्द्रीय कार्यालय बैठकमा धेरै नेताहरू बाहिर हुँदा उपलब्ध नेताहरू मात्र सहभागी हुने महासचिव पौडेलले बताएका छन्।

पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई पार्टीको प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसअघि एमालेले अध्यक्ष केपी शर्मा ओली, र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ।

विशेष महाधिवेशनको निर्णयपछि सभापति गगन थापासहितका नेताहरूले उम्मेदवारी दिएको तर निवर्तमान सभापति शेरबहादुर देउवा समूहले असहमति जनाएका थिए। देउवा समूहका नेताहरूले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन सर्वोच्चमा रिटसमेत दायर गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।

त्यसपछि केही केन्द्रीय सदस्य र तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा प्रवेश रोक्ने प्रयास गरेका थिए, तर अहिले उनीहरूले कार्यालय छोडेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय