वीरगन्जमा लक्ष्मी सनराईज बैंकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न

spot_img

वीरगन्ज,१२ माघ । वीरगन्जको आदर्शनस्थित लक्ष्मी सनराईज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीमान्तकृत र विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। यस शिविरबाट वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानका १५१ जना बिरामीले निःशुल्क शल्यक्रिया प्राप्त गरेका छन्।

शिविर वीरगन्ज महानगरपालिकाका पाँच स्थानमा सञ्चालन गरिएको थियो। वडा नं. १ को छपकैया छठघाट, वडा नं. २७ को जसौली, वडा नं. ८ को गहवा, वडा नं. २१ को सिर्सिया दलित बस्ती र वडा नं. १२ को मुर्लीमा आयोजित शिविरबाट बिरामीको पहिचान गरिएको थियो। बैंकका अनुसार पहिचान भएका सबै १५१ जनाले मोतीबिन्दु शल्यक्रिया निःशुल्क पाएका छन्।

कार्यक्रमको संयोजन आदर्शनगर शाखाका जीवन निरौलाले गरेका थिए। कार्यक्रममा शाखा प्रबन्धक रोहिणी आचार्य र प्रदेश कार्यालयका प्रतिनिधि सञ्जय यादवको विशेष उपस्थिति रहेको थियो। शल्यक्रियाका लागि प्राविधिक सहयोग वीरगन्ज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी र उनका चिकित्सक टोलीले प्रदान गरेका थिए।

बैंकका प्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता सामाजिक सेवा कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूको भनाइअनुसार यस्ता पहलहरूले दृष्टिविहीनताको जोखिममा रहेका नागरिकहरूको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ र विपन्न समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउने अपेक्षा गरिएको छ।

लक्ष्मी सनराईज बैंकले विगतमा पनि विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ र यस शिविरलाई त्यसै अभियानको हिस्सा मानिएको छ। स्थानीय समुदायले पनि कार्यक्रमको सकारात्मक मूल्यांकन र सराहना गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय