चितवन,१३ माघ । चितवनमा गैँडाको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराई सोमबार साँझ उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भट्टराई घर नजिकैको मरड खोलामा घाँस दाउरा गर्न गएका बेला गैँडाको आक्रमणमा परेका थिए। आक्रमणपछि उनलाई गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणका कारण हालसम्म दुई जनाको मृत्यु भइसकेको छ, दुवै गैँडाको आक्रमणबाट भएको पुष्टि गरिएको छ। निकुञ्ज प्रशासनले स्थानीयवासीलाई वन्यजन्तु नजिक नजान, सुरक्षित दूरी कायम राख्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



