spot_img

बीरगन्जको मितेरीपुल क्षेत्रमा नवनिर्मित सीमा सुरक्षा पोष्टको समुद्घाटन

spot_img
spot_img

बीरगन्ज,१४ माघ । बीरगन्ज महानगरपालिका–स्थित मितेरीपुल क्षेत्रमा नवनिर्मित सीमा सुरक्षा पोष्टको भव्य समुद्घाटन सम्पन्न भएको छ। यो पोष्ट बीरगन्ज महानगरपालिकाको सहयोग, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गण, हे.क्वा.को सहकार्यमा सञ्चालन भइरहेको “मितेरीपुल सीमा सौन्दर्यकरण कार्यक्रम” अन्तर्गत निर्माण गरिएको हो।

समुद्घाटन कार्यक्रम नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गणका प्रमुख एसपी पुरण चन्द भट्ट विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी विशेष अतिथिहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिप राज पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी लगायत उपस्थित थिए। कार्यक्रममा सञ्चारकर्मीहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिहरूले संयुक्त रूपमा बेलुन उडाएर सीमा सुरक्षा पोष्टको औपचारिक समुद्घाटन गरेका थिए।

नगर प्रमुख मेयर राजेशमान सिंहले समुद्घाटन समारोहमा बोल्दै मितेरीपुलजस्तो अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा आधुनिक सुरक्षा पोष्ट निर्माण हुनु सीमा सुरक्षा सुदृढ गर्न, अव्यवस्थित गतिविधि नियन्त्रण गर्न, आवागमन व्यवस्थापन सुधार गर्न र नगरको सौन्दर्य अभिवृद्धि गर्न महत्वपूर्ण भएको बताए। उनले स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच सहकार्यले दिगो विकास र सुरक्षित सीमाक्षेत्र सुनिश्चित गर्न सक्नेमा विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि एसपी पुरण चन्द भट्टले सशस्त्र प्रहरी बल सधैं सीमा सुरक्षा र शान्तिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्यले सुरक्षा व्यवस्था अझ प्रभावकारी हुने बताए। उनले मितेरीपुलजस्तो संवेदनशील सीमाक्षेत्रमा निर्माण गरिएको पोष्टले शान्ति, सुरक्षा र विश्वासको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता बीरगन्ज महानगरपालिकाका हरियाली संयोजक र ग्रिन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले गरेका थिए। अध्यक्ष खेतानले मितेरीपुल क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित सीमा सौन्दर्यकरण कार्यक्रम अघि बढाइएको र नवनिर्मित पोष्ट सोही कार्यक्रमको एक महत्वपूर्ण उपलब्धि भएको जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय