वीरगन्जका तीन वडामा वर्षौँदेखिको डुबान समस्या समाधान

spot_img

वीरगन्ज,१६ माघ । लामो समयदेखि वर्षायाममा डुबानको समस्या भोग्दै आएका वीरगन्ज महानगरपालिकाका तीन वडाका बासिन्दाले अन्ततः राहत पाएका छन्। वडा नम्बर १७, २४ र २६ मा वर्षाको पानी निकासको समस्या समाधान भएपछि स्थानीयवासीहरूमा खुसीयाली छाएको छ।

यी वडामा प्राकृतिक पानी निकास अवरुद्ध हुनु, पर्याप्त नाला र पाइपलाइनको अभावका कारण हरेक वर्ष बस्ती डुबानमा पर्ने गरेको थियो। सडक, गल्ली र घर–आँगनमा पानी जम्ने, घरभित्रै पानी पस्ने र आवतजावत अवरुद्ध हुने अवस्थाले जनजीवन निकै कष्टकर बनेको थियो। यसअघि पटक–पटक समाधानका प्रयास भए पनि स्थानीय असमझदारी र प्राविधिक जटिलताका कारण दीर्घकालीन समाधान सम्भव हुन सकेको थिएन।

यसपटक भने महानगरका मेयर राजेशमान सिंहको सक्रिय पहलमा समस्या समाधानतर्फ ठोस कदम चालिएको हो। प्रमुख जिल्ला अधिकारी, पर्साका प्रहरी प्रमुख तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी अवरुद्ध पानी निकास खोल्ने सहमति जुटाइएको थियो। स्थानीय बासिन्दासँगको निरन्तर संवादपछि महानगरको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पानी जम्ने मुख्य स्थानहरू पहिचान गरेको थियो।

निरीक्षणपछि ती स्थानहरूमा ठूला ह्युम पाइप (ड्रेनेज पाइप) जडान गरी संरचनागत सुधार गरिएको छ। नयाँ संरचना निर्माणसँगै वर्षौँदेखि जमेर बस्ने पानी सहज रूपमा निकास हुन थालेको छ। स्थानीयवासीहरूले लामो समयदेखिको समस्या समाधान भएको भन्दै महानगरको पहलप्रति आभार व्यक्त गरेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यसलाई शहरी व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूको पहिचान गरी चरणबद्ध रूपमा निकासको काम अघि बढाइनेछ। साथै, निर्माण गरिएका संरचनाहरूको नियमित अनुगमन, मर्मत तथा सरसफाइलाई प्राथमिकता दिँदै शहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य महानगरले लिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय