वीरगन्ज,१६ माघ । बाराको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीह टोलमा माघ १४ गते घटेको घटनामा घाइते भएका परिवारसँग भेटघाट गर्न पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता जितेन्द्र सोनल र बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सञ्जु साह घटनास्थल पुगेका छन्।
नेताद्वयले घाइते परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। भेटका क्रममा उनीहरूले पीडित परिवारलाई ढाडस दिँदै दुःखको यस घडीमा आफूहरू जनतासँगै रहेको सन्देश दिएका छन्।
सो अवसरमा पूर्व मुख्यमन्त्री सोनलले यस्ता घटनाले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गर्ने उल्लेख गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताए। उनले दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
त्यसैगरी प्रतिनिधिसभा सदस्य उम्मेदवार सञ्जु साहले जनताको जीवन, सुरक्षा र सम्मानलाई केन्द्रमा राखेर राजनीति हुनुपर्ने धारणा राखे। उनले भने, “जनताको पीडा बुझ्ने र संकटको बेला साथ दिने नेतृत्व नै आजको आवश्यकता हो। राजनीतिक पद वा चुनावभन्दा जनताको जीवन माथि हुन्छ।”
भेटघाटका क्रममा स्थानीयवासीहरूले घटनासम्बन्धी आफ्ना गुनासा राख्दै पछिल्लो समय शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको बताएका थिए। उनीहरूले यस्ता घटनाको स्थायी समाधानको मागसमेत गरेका छन्। नेताद्वयले स्थानीयका समस्या र गुनासालाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घटनापछि प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उपस्थित भई पीडित परिवारसँग भेटघाट गर्नुले आगामी निर्वाचनको सन्दर्भमा जनमुखी, संवेदनशील र जिम्मेवार राजनीतिक भूमिकाको सन्देश दिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।




