हेटौंडा,१६ माघ । बागमती प्रदेशसभाद्वारा हालसम्म ८९ वटा कानुन निर्माण गरिएको छ। यद्यपि ९० वटा विधेयक पारित भए पनि तीमध्ये एक विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण नहुँदा हालसम्म राजपत्रमा प्रकाशित भएको छैन। प्रदेशसभामा हाल तीन वटा विधेयक सभा, समिति तथा सचिवालयमा विचाराधीन अवस्थामा रहेको छ।
प्रदेशसभाको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभाका सभामुख अप्सरा चापागाईले प्रदेशसभा स्थापनादेखि हालसम्मको संक्षिप्त विवरण प्रस्तुत गरिन्। उनले भनिन् कि पाचौं अधिवेशनमा ६ वटा बैठक बसेका थिए जसमा कुल ९ घण्टा २५ मिनेट समय खर्च भएको थियो। छैटौं अधिवेशनमा २४ बैठक बसेका थिए जसमा ३९ घण्टा २१ मिनेट समय खर्च भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
प्रदेशसभा सचिवालयले कानुन निर्माण, कार्यान्वयन तथा स्थानीय तहसँगको समन्वय र छलफलमा निरन्तर काम गर्दै आएको छ। विषयगत समितिका सदस्यलाई विधेयक मस्यौदा तयारी, प्रतिवेदन लेखन तालिम, प्रदेश निजामती ऐन २०७९ अनुसारको उत्तर विधायिकी प्रशिक्षण र सरोकारवालासँगको छलफल कार्यक्रम समेत सञ्चालन गरिएको छ।
यसअघि जेन–जी आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा भवनमा आगजनी भएको थियो। क्षति पुगेको भवनको सट्टामा हेटौंडा उपमहानगरपालिकामा अस्थायी हलमा प्रदेशसभा सञ्चालनको तयारी गरिएको छ। सचिवालयले दैनिक कार्य सञ्चालन र विषयगत समितिका बैठक व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाएको छ।
प्रदेशसभामा प्रत्यक्ष मतबाट ६६ र समानुपातिकबाट ४४ जना सदस्य रहेका छन्। गत माघ ५ मा ६ प्रदेशसभा सदस्यले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन राजीनामा दिएपछि हाल प्रदेशसभामा १०४ जना सांसद छन्।

