वीरगन्ज,१७ माघ । वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको कृष्णा अस्पताल प्रालिमा उपचाररत एक युवकको मृत्यु भएपछि परिवारजनले चिकित्सक र अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाएका छन्। मृत्यु हुनेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–८ बेतावनाका चन्देश्वर माझीका २० वर्षीय छोरा हरेन्द्र माझी रहेका छन्। अस्पताल स्रोतका अनुसार तीन दिनदेखि उपचाररत रहेका माझीको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि मृत्यु भएको हो।
तर मृतकका परिवारजनले उपचार प्रक्रियामै गम्भीर त्रुटि भएको दाबी गरेका छन्। मृतककी आमा अनिता देवीले छोराको मृत्यु शङ्कास्पद रहेको बताउँदै घटनाको सत्यतथ्य छानबिनको माग गरेकी छन् । उनका अनुसार बिहान करिब ९ बजे छोरोले खाना खान इशारा गरेपछि केही समयमै चिकित्सकले मृत्युको जानकारी दिएका थिए। “छोरो सामान्य जस्तै देखिन्थ्यो, अचानक मृत्युको खबर सुन्दा हामी स्तब्ध भयौँ,” उनले भने । घटनापछि माझी परिवार शोकमा डुबेको छ।
मृतक हरेन्द्र माझी विगत एक महिनादेखि क्षयरोग (टिबी) बाट पीडित थिए। उनी सरकारी अस्पतालबाट नियमित रूपमा टिबीको औषधि सेवन गर्दै आएका थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई वीरगन्ज ल्याई कृष्णा अस्पतालमा भर्ना गरिएको परिवारजनले बताएका छन्।
परिवारका सदस्यहरूका अनुसार बिरामीको अवस्था गम्भीर हुँदै जाँदा नजिकै रहेको नारायणी अस्पतालमा रेफर गर्नुको साटो निजी अस्पतालमै उपचार जारी राखिनु लापरबाही हो। साथै उपचार खर्च र मृत्युको वास्तविक कारणबारे अस्पतालले स्पष्ट जानकारी नदिएको उनीहरूको आरोप छ।
यस विषयमा अस्पताल प्रशासनले भने लापरबाहीको आरोप अस्वीकार गरेको छ। कृष्णा अस्पतालको इमर्जेन्सी वार्डका मेडिकल अफिसर डा. सुदिप गुप्ताले बिरामी भर्ना हुँदाकै अवस्था गम्भीर रहेको र चिकित्सक टोलीले सबै सम्भव प्रयास गर्दा पनि ज्यान जोगाउन नसकिएको प्रतिक्रिया दिए ।
“हामीले गर्न सक्ने सम्पूर्ण प्रयास गरेका थियौँ, तर बिरामीको अवस्था अत्यन्तै जटिल थियो,” डा. गुप्ताले भने । घटनापछि स्थानीय तह तथा सरोकारवाला निकायबाट निष्पक्ष छानबिनको माग बढ्दै गएको छ।

