बीरगन्ज,१८ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर–३ मा नेपाली कांग्रेसको वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–४ बाट कांग्रेसका उम्मेदवार पूर्व मन्त्री तथा निवर्तमान सांसद रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सह–सचिव नविन सिंहले पर्सा–४ मा कांग्रेस उम्मेदवार रिजालको जित सुनिश्चित रहेको दाबी गरे । उनका अनुसार अन्य उम्मेदवारको तुलनामा रिजाल अनुभवी, योग्य र सक्षम नेता भएकाले जनताको भरोसा उनैमाथि रहेको छ ।
“हाम्रा उम्मेदवार सधैं क्षेत्रका जनताको सुख–दुःखमा सहभागी हुँदै आउनु भएको छ,” सिंहले भने, “अरू जस्तो चुनावको बेला मात्र देखिने होइन, त्यसैले कांग्रेसको जित निश्चित छ ।”
भेलाका प्रमुख अतिथि समेत रहेका युवा नेता सिंहले नेता–कार्यकर्तालाई अफवाह र हावाको पछि नलाग्न आग्रह गर्दै आगामी निर्वाचनमा कांग्रेसको कुनै विकल्प नरहेको जिकिर गरे । उनले लोकतन्त्रको स्थापनादेखि सुदृढीकरणसम्म नेपाली कांग्रेसले खेलेको भूमिकाको चर्चा गर्दै पार्टीलाई लोकतन्त्रको पहरेदारको रूपमा प्रस्तुत गरे ।
भेलामा सहभागी नेता–कार्यकर्ताहरूले एकताबद्ध भएर घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउने र रमेश रिजालको जित सुनिश्चित गर्न सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।




