घरमा कोही नभएको मौका पारेर गरगहना चोरी, पर्सा प्रहरीले अनुसन्धान सुरु

spot_img

वीरगन्ज,२३ माघ । वीरगन्ज महानगर क्षेत्रमा मान्छे नभएका घरलाई लक्षित गर्दै सुनचाँदी तथा गरगहना चोरी हुने घटनाहरू सार्वजनिक भएका छन्। यही माघ १२ गते वीरगन्ज–१५ स्थित एनआई कलेज जाने सडक नजिक श्यामकिशोर लाल कर्णको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको थियो। तीन जना अपरिचित व्यक्तिले घरमा कोही नभएको मौका पारेर चोरी गरेका थिए।

त्यसपछि माघ १३ गते वीरगन्ज–१४ स्थित लिङ्करोडमा वीरेन्द्र सिंहको घरबाट मूल्य यकिन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ। पर्सा प्रहरीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्दै आएको छ। प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले भने, “अहिले उपलब्ध स्रोतसाधन र विधि प्रयोग गरेर चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी छ। स्थानीय प्रहरीलाई जानकारी गराएमा घरमा निगरानी बढाएर सुरक्षा व्यवस्था मिलाउन सकिन्छ।”

चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म पर्सामा २६ चोरीका मुद्दा दर्ता भएका छन्। यसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने ९ जना फरार छन्। १३ प्रतिवादी पुर्पक्षका लागि थुनामा पठाइएका छन् भने २४ जना धरौटीमा छुटेका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ चोरीका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए र ८ जना फरार थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय