रौतहट,२४ माघ । रौतहटमा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. सुरेश शुक्लाले पाठेघरको मुखको क्यान्सरको वर्तमान अवस्था, जोखिमका कारण र एचपीभी खोपको प्रभावकारिताबारे जानकारी दिएका थिए। उनले प्रारम्भिक किशोरावस्थामै खोप लगाउँदा भविष्यमा हुने क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घट्ने बताए।
स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन हुनेछ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका किशोरीहरूलाई पनि खोप सेवा उपलब्ध गराइने उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अभियान सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक र सञ्चारकर्मीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले सबै पक्षको समन्वय र सहकार्यबाट कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
खोप सेवा पहिलो चरणमा माघ २५ गतेदेखि फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढिमाई, ईशनाथ, परोहा, देवाही गोनाही र राजपुर नगरपालिकामा सञ्चालन हुनेछ। दोस्रो चरण फाल्गुन १ गतेदेखि चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया, राजदेवी नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यक्रमका सभापति राम अयोध्या राय यादवले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि यो अभियान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समयमै खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने बताए।

