रौतहट,२४ माघ । स्रोत नखुलेको झण्डै पाँच लाख रुपैयाँसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियमित सवारी चेकजाँचका क्रममा उक्त रकम बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार, शुक्रबार बिहान करिब १०:३० बजे गौर–३ स्थित सडकखण्डमा मोटरसाइकल चेकजाँच भइरहेको थियो। गौर भन्सार कार्यालयतर्फ जाँदै गरेको बी.पी. ३० यु ७२४७ नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि रोकिएको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक, गौर–१ का ४४ वर्षीय राकेश प्रसादको साथबाट प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको नेपाली नगद ४ लाख ९९ हजार रुपैयाँ फेला परेको थियो। स्रोतबारे आवश्यक कागजात पेश गर्न नसक्दा उनलाई नियन्त्रणमा लिइएको छ।
बरामद रकम, मोटरसाइकल र चालकलाई अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको डिएसपी बस्यालले जानकारी दिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

