काठमाडौँ,२९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ पूर्ण भएको निर्वाचन आयोगले जनाएको छ। सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार अहिलेसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी मतपत्र छपाइ सकिएको छ।
अहिलेसम्म १४,३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब १,००० बाकस मतपत्र प्याकिङ र १३–१५ लाख मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।
मतपत्र छपाइ प्रक्रिया जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सुरु भएको थियो। प्रत्यक्ष निर्वाचनका लागि दुई करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको छ।
साथै, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा छपाइ भएको मतपत्र आजै वितरण सुरु गरिएको छ। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र ढुवानी गरिएको आयोगले जानकारी दिएको छ।




