काठमाडाैं,०१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नं. ४ को विकास कार्य विज्ञहरूको सुझाव र योजनाका आधारमा अघि बढाउने बताएका छन्। घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उनले स्थानीय आवश्यकता अनुसार योजनाबद्ध रूपमा विकासका काम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेपछि दोस्रोपटक सर्लाही पुगेका थापा यतिबेला विभिन्न स्थानमा मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाका मतदातासँगको भेटघाटका क्रममा उनले आगामी पाँच वर्षभित्र सर्लाही–४ लाई भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि उत्कृष्ट निर्वाचन क्षेत्र बनाउने लक्ष्य राखेको बताए।
“आगामी पाँच वर्षमा गर्नुपर्ने विकासका काम विज्ञहरूको सुझाव र योजनाका आधारमा अघि बढाउनेछु,” उनले भने।
थापाले नेपाली कांग्रेससँग देश सञ्चालनको अनुभव र उत्साह दुवै रहेको उल्लेख गर्दै देशको नेतृत्व गर्ने अवसर दिन मतदातासँग आग्रह समेत गरे। उनले ‘प्रोजेक्ट गभर्मेन्ट’मार्फत आगामी पाँच वर्षका कामको अध्ययन र योजना तयार भइसकेको दाबी गरे।

