spot_img

शिक्षा, रोजगार र सुशासन प्राथमिकतामा राख्दै जसपाको घोषणापत्र सार्वजनिक

spot_img
spot_img

काठमाडौँ,०१ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, शासन प्रणाली, संविधान संशोधन तथा आर्थिक सुधारका विषयलाई प्राथमिकतामा राखिएको छ।

जसपाले वर्तमान संविधानले मुलुकको समस्या समाधान गर्न नसकेको दाबी गर्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सुधार गर्दै सङ्घीय समाजवादी व्यवस्थालाई सुदृढ बनाउनुपर्ने उल्लेख गरिएको छ।

घोषणापत्रमा शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूप, प्रविधिमैत्री, सिपमूलक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली निःशुल्क रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, २०४७ सालदेखि हालसम्मका निर्वाचित जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पनि अघि सारेको छ।

यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागू गर्ने, वैज्ञानिक भू–उपयोग तथा भूमिसुधार नीति लागू गर्ने, कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरण गर्ने योजनासमेत घोषणापत्रमा समावेश गरिएको छ।

जसपाले आगामी पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई १० प्रतिशतमा झार्ने लक्ष्यसमेत राखेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय