करदाता सेवा कार्यालय सिमरा सार्ने निर्णयविरुद्ध दोस्रो दिन पनि प्रदर्शन जारी

spot_img

रौतहट,०२ फागुन । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरामा सार्ने सरकारी तयारीको विरोधमा सुरु भएको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। आन्दोलनका कारण शनिबार गौर बजार पूर्ण रूपमा बन्द रह्यो भने व्यापारीहरू सडक प्रदर्शनमा उत्रिएका छन्।

बिहानदेखि नै बिपी चोक, भन्सार एरियालगायत मुख्य स्थानहरूमा प्रदर्शन गरिएको छ। केही स्थानमा टायर बालेर नाराबाजी गरिएको छ भने बजारका अधिकांश पसल बन्द हुँदा जिल्ला सदरमुकाम सुनसान बनेको छ।

सरकारले कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेपछि स्थानीय व्यवसायी आन्दोलित भएका हुन्। गौरमै आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालय पूर्व जानकारीबिना सार्न खोजिएको भन्दै व्यापारीहरूले आपत्ति जनाएका छन्।

शुक्रबार कार्यालयका सामग्री बोकेको ट्रक बजारबाट बाहिर लैजान खोज्दा उद्योग वाणिज्य संघका पदाधिकारीसहित व्यापारीहरू ट्रकअगाडि धर्नामा बसेका थिए। स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। विरोधपछि ट्रकबाट सामग्री पुनः अनलोड गरिएको थियो।

रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले निर्वाचनको मुखमा कार्यालय सार्ने प्रयास अस्वीकार्य भएको बताउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सेवा केन्द्र हटाउँदा सेवाग्राही र व्यापारीहरू प्रभावित हुने बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिताराम रिजालका अनुसार व्यापारीहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छन्। प्रशासनले अवस्था सामान्य बनाउन पहल जारी रहेको जनाएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले समन्वयको कमीका कारण विवाद बढेको उल्लेख गर्दै समस्या समाधानका लागि आन्तरिक राजस्व कार्यालय पथलैयाका प्रमुख, उद्योग वाणिज्य संघ, व्यापारी, सुरक्षा निकाय तथा सर्वदलीय प्रतिनिधिसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिएका छन्। हाल गौर बजारको जनजीवन प्रभावित बनेको छ भने आन्दोलनको निकास बैठकपछि मात्र निस्कने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय