वीरगन्ज,०९ फागुन । वीरगन्ज महानगरपालिका–७ मा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता र वडाध्यक्षका उम्मेदवार दीपक महतो दीपक महतो नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
महतोसँगै स्थानीय नेता शिवजी गुप्ता, महिला नेतृ सुनिता देवी, नेपाली कांग्रेसका नेता सियाराम नेपाली र सयौं अन्य कार्यकर्ता विभिन्न दल त्यागेर एमालेमा सामेल भएका छन्। नवप्रवेशीहरूलाई प्रदीप यादव ले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा यादवले दीपक महतो र शिवजी गुप्ताजस्ता नेताहरूको प्रवेशले वीरगन्ज–७ मा एमालेको स्थिति थप मजबुत भएको बताए। उनले आगामी निर्वाचनलाई ‘देश जलाउने र देश जोगाउने बीचको प्रतिस्पर्धा’ को रूपमा व्याख्या गर्दै स्थानीयहरूलाई राष्ट्रियता, संघीयता र अखण्डताको रक्षा गर्न एमालेमा मतदान गर्न आग्रह गरे।
पूर्व मन्त्री यादवले एमाले अध्यक्ष केपी शर्मा ओली को नेतृत्वमा देश र जनताको पक्षमा बोल्ने नेतृत्व रहेको र भावी प्रधानमन्त्री बन्ने अवस्थामा वैदेशिक हस्तक्षेप रोक्न सकिने दाबी पनि गरे।
यसैबीच, यादवले नेपाली काँग्रेसप्रति कडा टिप्पणी गर्दै पार्टीलाई “दास र लासको पार्टी” भने। उनले काँग्रेसले आफूलाई नयाँ प्रचार गरिरहे पनि पाँच वर्ष व्यवसायमा व्यस्त रहने उम्मेदवारलाई मात्र टिकट दिएको आरोप लगाए। यादवले पर्सा–१ का काँग्रेस उम्मेदवारलाई व्यवसायी पृष्ठभूमिबाट आएका व्यक्ति भन्दै राजनीतिक योगदान र समाजसेवामा प्रश्न उठाए।
पूर्व मन्त्री यादवले आफूले प्रतिनिधिसभामा निर्वाचित हुँदा गरेको विकास, निर्माण र परोपकारी कामको विवरण पनि स्थानीयहरूसँग साझा गर्दै काम गर्ने नेतालाई मात्र छान्न आग्रह गरे।

