वीरगन्ज,०९ फागुन । रोटरी क्लब वीरगन्ज र रोटरी क्लब मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने नारालाई मूलमन्त्र बनाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रममा ३ महिला सहित ४९ जनाले रक्तदान गरेका थिए।
कार्यक्रम मेट्रोपोलिसका अध्यक्ष सञ्जय जोशी अनुसार वीरगञ्जको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको खबर प्राप्त भएपछि छोटो समयमै आयोजना गरिएको हो। रक्तदानमा विधा भारती, स्वेता गुप्ता, कविता खेतान, सुनिल खेतान, विशाल शर्मा, गणेश राम लगायतका नागरिक सहभागी भए।
अध्यक्ष जोशीले भने, “रक्तदानले दिने पक्षलाई कुनै घाटा हुँदैन, तर लिने पक्षका लागि जीवनदान नै हुन्छ। प्रत्येक तीन महिनामा नियमित रक्तदानले मानवता बलियो बनाउँछ।” कार्यक्रममा उपस्थित अध्यक्ष सुनिल खेतान ले नारायणी अस्पताल लगायत अन्य अस्पतालमा रगत अभावले उपचारमा समस्या परेको उल्लेख गर्दै सबै नागरिकलाई रक्तदानमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, नारायणी अस्पतालका डा. चित्ररञ्जन साह र डा. आनन्द अग्रवाल, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, रोटरी क्लबका पूर्व अध्यक्ष शशीरञ्जन कलवार लगायतको उपस्थिति रहेको थियो।
अतिथिहरूले रक्तदानलाई पवित्र सामाजिक कार्यको रूपमा उल्लेख गर्दै सम्पूर्ण युवा, महिला र अग्रजलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गरेका छन्। कार्यक्रमले सामाजिक उत्तरदायित्व र समुदाय सेवामा रोटरी क्लबको सक्रियता पुनः उजागर गरेको छ।




