सर्लाही,१२ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका उम्मेदवारहरू निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी नियम पालना गर्न उदासीन देखिएका छन् । प्रचार प्रसारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था भए पनि अधिकांश उम्मेदवारले हालसम्म खाता खोलेको विवरण बुझाएका छैनन् ।
निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले अलग बैंक खातामार्फत मात्र आम्दानी र खर्च गर्नुपर्नेछ । तर सर्लाहीमा कायम १३१ जना उम्मेदवारमध्ये सोमबारसम्म १९ जनाले मात्र बैंक खाता खोलेको प्रमाण पेस गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार सर्लाहीमा २६ राजनीतिक दल र स्वतन्त्र गरी कुल १३१ जनाको उम्मेदवारी दर्ता छ । तीमध्ये ७६ जनाले बैंक खाता खोल्न सिफारिस लिइसकेका भए पनि अधिकांशले खाता खोलेर विवरण बुझाउन ढिलाइ गरिरहेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पौडेलका अनुसार उम्मेदवारहरूलाई बैंक खाता खोल्न बारम्बार फोनमार्फत स्मरण गराइँदै आएको छ । आयोगको निर्देशनअनुसार समयमै खाता नखोली निर्वाचन खर्च गरे नियम उल्लङ्घन हुने स्पष्ट व्यवस्था रहेको छ ।

